नियम ४४
मतदान प्रतिनिधि
(१) निर्वाचनमा मतदान सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले प्रत्येक मतदान केन्द्रमा एकजना मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
तर कुनै दल र सो दलको उम्मेदवारको तर्फबाट एउटा मतदान केन्द्रमा एकजना मात्र मतदान प्रतिनिधि रहन सक्नेछ ।
(२) सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाउने गरी अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतदान प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम मतदान प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित मतदान अधिकृतलाई दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम नियुक्त मतदान प्रतिनिधिलाई मतदान अधिकृतले परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतदान कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतदान सम्बन्धी तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतदान प्रतिनिधिको कर्तव्य हुनेछ ।